भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान प्रस्थान गर्दै
काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आज (आइतबार) राति तुर्कमेनिस्तान प्रस्थान गर्दैहुनुहुन्छ । नेपालले हाल एलएलडिसी समूहको अध्यक्षता गरिरहेकोले प्रधानमन्त्री ओलीले सम्मेलनमा विशेष सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, उहाँ नेतृत्वको प्रतिनिधिमण्डल राति ११:५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तानका लागि प्रस्थान गर्नेछ। आफ्नो भ्रमणबारे प्रधानमन्त्री ओलीले शनिबार नै राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर जानकारी गराइसक्नुभएका छन् ।
तुर्कमेनिस्तानको अवाजा सहरमा साउन २० देखि २३ (अगस्ट ५–८) सम्म आयोजना हुने यस सम्मेलनका लागि प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले औपचारिक निमन्त्रणा पठाउनुभएकाे हाे ।
परराष्ट्र मन्त्रालयका अनुसार, भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षको रूपमा सम्मेलनलाई सम्बोधन गर्ने, एक उच्चस्तरीय गोलमेच बैठकको सह-अध्यक्षता गर्ने तथा अन्य विभिन्न कार्यक्रमहरूमा सहभागी हुनुहुनेछ।
सम्मेलनमा अफ्रिका, एसिया, युरोप र दक्षिण अमेरिकाका ३२ वटा भूपरिवेष्टित राष्ट्रहरूको सहभागिता रहनेछ। समुद्रसँग सीधा पहुँच नहुँदा यी राष्ट्रहरूले अन्तर्राष्ट्रिय व्यापारमा भोग्नुपरेका चुनौती, पारवहनमा हुने ढिलासुस्ती र उच्च लागत जस्ता समस्या समाधानमा सम्मेलन केन्द्रित हुनेछ। अपर्याप्त पूर्वाधार र विश्व बजारबाट टाढा हुनुका कारण प्रतिस्पर्धात्मक क्षमतामा परेको असरलाई कम गर्न नवीन उपायहरूको खोजी गरिनेछ।
प्रधानमन्त्री ओलीको भ्रमण दलमा उहाँकी धर्मपत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद सूर्यबहादुर थापा क्षेत्री, परराष्ट्र सचिव अमृतबहादुर राई, निजी चिकित्सक डा. दिव्यासिंह शाह लगायत उच्चपदस्थ सरकारी अधिकारी, सञ्चारकर्मी र सुरक्षाकर्मी रहने जनाइएकाे छ । भ्रमणका क्रममा उहाँले विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल प्रमुख तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाका पदाधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ।