बोलबमका लागि सुन्दरीजल पुगेकी महिलाको डुबेर मृत्यु
काठमाडौँ, १९ साउन । साउने सोमबारको पूर्वसन्ध्यामा बोलबमका लागि सुन्दरीजल पुगेकी एक महिलाको खोलामा डुबेर मृत्यु भएको छ।
गोकर्णेश्वर नगरपालिका-१ स्थित सुन्दरीमाई मन्दिर नजिकको खोलामा डुबेर चितवन घर भई कपन बस्दै आएकी ३५ वर्षीया सन्ध्या धामीको ज्यान गएको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी कुलदिप चन्दका अनुसार, आइतबार राति धामी खोला किनारको ढुंगामा चिप्लिएर लडेपछि डुबेकी थिइन्।
डुबेर अशक्त भएकी उनलाई तत्काल उद्धार गरी उपचारका लागि नेपाल मेडिकल कलेज, अत्तरखेल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।