बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा, बानियाँलाई सरकार बनाउन बाटो खुल्यो

हेटौँडा, १९ साउन। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज पदबाट राजीनामा दिनुभएको छ। नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि पार्टी निर्देशनअनुसार उहाँले राजीनामा दिनुभएको हो, जसले बानियाँको नेतृत्वमा नयाँ सरकार गठनको मार्गप्रशस्त गरेको छ।

मुख्यमन्त्री लामाले आफ्ना प्रमुख स्वकीय सचिव छत्रबहादुर लामामार्फत प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पत्र पठाउनुभएको थियो। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले दिउँसो करिब १ बजे राजीनामा पत्र प्राप्त भएको पुष्टि गर्नुभयो।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले राजीनामा स्वीकृत गरी अब छिट्टै नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु गर्ने तयारी गर्नुभएको छ।

गत साउन १४ गते भएको कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा लामा बानियाँसँग पराजित हुनुभएको थियो। त्यसपछि पार्टी सभापति शेरबहादुर देउवाले लामालाई राजीनामा दिन निर्देशन दिनुभएको थियो।

मुख्यमन्त्री लामाले आइतबार साँझ नै राजीनामा बुझाउन प्रयास गर्नुभएको थियो, तर प्रदेश प्रमुख कार्यालयमा उपस्थित नभएपछि उहाँले आफ्ना स्वकीय सचिवलाई जिम्मा लगाएर काठमाडौँ फर्कनुभएको थियो।