बागमतीको मुख्यमन्त्रीमा बानियाँको दाबी

काठमाडाैं, १९ साउन । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदका लागि आफ्नो दाबी पेश गर्नुभएको छ। नेकपा (एमाले) को समर्थनसहित उहाँले सोमबार प्रदेश प्रमुख दीपक देवकोटासमक्ष दाबी पत्र बुझाउनुभएको हो।

यसअघि मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्यालयले मंगलबार दिउँसो २ बजेभित्र नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेको थियो।

आह्वान भएको केही समयमै बानियाँले एमाले संसदीय दलका नेता जगन्नाथ थपलियासहित प्रदेश प्रमुखको कार्यालयमा पुगेर आफ्नो दाबी प्रस्तुत गर्नुभएको हो।

सत्तारुढ गठबन्धनको प्रमुख घटक एमालेको समर्थन प्राप्त भएसँगै बानियाँ बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ।