वर्षाले मधेसका किसानलाई राहत, धान रोपाइँले गति लियो
जनकपुरधाम, १९ साउन। लामो समयको खडेरीपछि पछिल्ला तीन दिनदेखि परेको निरन्तर वर्षाले मधेस प्रदेशका किसानहरूलाई ठूलो राहत मिलेको छ।
पानीको अभावमा रोकिएको धान रोपाइँले तीव्रता लिएको छ र हालसम्म प्रदेशभर ६३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
मधेस प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार, साउनको दोस्रो हप्तासम्म ५० प्रतिशत पनि नपुगेको रोपाइँ वर्षासँगै ह्वात्तै बढेको हो। निर्देशनालयका वरिष्ठ बागवानी अधिकृत प्रदीप यादवले बारा र पर्सामा रोपाइँ लगभग सकिएको र अन्य जिल्लाहरूमा पनि किसानहरू धमाधम रोपाइँमा व्यस्त रहेको जानकारी दिनुभयो।
यसअघि लामो समय पानी नपर्दा प्रदेश सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो। किसानलाई राहत दिन प्रदेश सरकारले कृषिज्ञान केन्द्रमार्फत स्यालो ट्युबवेल वितरणको कार्यक्रम पनि सुरु गरेको थियो।
मधेस प्रदेशमा कुल तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। तर, प्रदेशको करिब ६५ प्रतिशत खेती आकाशे पानीमा निर्भर रहेकाले यसपटक मनसुनमा ढिलाइ हुँदा रोपाइँ प्रभावित भएको थियो। सामान्यतया साउनको दोस्रो हप्ताभित्रै सकिने रोपाइँ यस वर्ष ढिलो हुन पुगेको हो।