कक्षा १२मा ६१ प्रतिशत उत्तीर्ण, करिब ३९ प्रतिशत ‘नन-ग्रेड’
काठमाडौँ, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागीमध्ये ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेड प्राप्त) भएका छन् भने बाँकी ३८.८३ प्रतिशत ‘नन-ग्रेड’ (एनजी) मा परेका छन् ।
नन-ग्रेडमा परेका विद्यार्थीहरूले उच्च शिक्षामा तत्काल भर्ना हुन पाउने छैनन् । उनीहरूले ग्रेड वृद्धि परीक्षामा सहभागी भई कम्तीमा तोकिएको ग्रेड प्राप्त गर्नुपर्ने हुन्छ ।
यस वर्षको परीक्षामा देशभरबाट कुल ५ लाख ११ हजार ५ सय २५ जना परीक्षार्थी सहभागी भएका थिए ।
शिक्षकहरूको आन्दोलनका कारण गत वैशाख ११ गतेका लागि निर्धारित परीक्षा २१ वैशाखदेखि सञ्चालन भएको थियो । सोही कारण परीक्षाको नतिजा प्रकाशनमा समेत केही ढिलाइ हुन पुगेको बोर्डले जनाएको छ ।