पाँच दिनदेखि बेपत्ता दाजुबहिनी खोला किनारमा मृत फेला

पाँचथर, साउन २० । पाँचथरको याङवरक गाउँपालिका–१, बिरुवामा पाँच दिनदेखि बेपत्ता भएका एकै परिवारका दाजुबहिनी मृत अवस्थामा फेला परेका छन्।

साउन १५ गते बिहानदेखि हराइरहेका १० वर्षीय शिशिर राई र उनकी ६ वर्षीया बहिनी नानुमा राईको शव शुक्रबार बिहान स्थानीय बिरुवा खोलामा भेटिएको हो।

स्थानीय वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार दुवैको शव खोला किनारमा करिब २०० मिटरको दूरीमा अलग-अलग स्थानमा भेटिएको थियो। साउन १५ गते बिहान करिब ६ बजे बाबु बिर्खबहादुर राईले छोराछोरीलाई “हजुरआमाको घरमा गएर खाना खाई स्कूल जानू” भनी पठाएका थिए। तर, बाबुले छोराछोरी हजुरआमासँग भएको र हजुरआमाले नातिनातिनी बाबुसँगै भएको ठानेर दिनभरि सोधखोज भएन।

साँझ करिब ७ बजेतिर मात्रै उनीहरू दुवै घरमा नभएको थाहा भएपछि परिवार र स्थानीयले खोजी सुरु गरेका थिए। परिवारले ढिलो गरी खबर गरेकाले प्रहरीले पनि २४ घण्टापछि मात्रै खोजी कार्यलाई तीव्रता दिएको थियो।

मृतक शिशिर स्थानीय पूर्ण आधारभूत विद्यालयमा कक्षा ४ र बहिनी नानुमा कक्षा १ मा अध्ययनरत थिए। उनीहरूकी आमा वैदेशिक रोजगारीका क्रममा विदेशमा छिन्।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायब उपरीक्षक (डीएसपी) कौशलकुमार बुढाथोकीले घटना दुःखद भएको बताउँदै अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो। दुवै बालबालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *