तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माण तीव्र, ७३ हजार घनमिटर कंक्रिटको काम सम्पन्न

तनहुँ, २२ साउन । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण कार्यले तीव्रता पाएको छ। आयोजनाको १४० मिटर अग्लो बाँधका लागि हालसम्म ७३ हजार घनमिटर कंक्रिट निर्माणको काम सकिएको छ।

आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार, बाँध निर्माणका लागि कुल ९ लाख घनमिटर कंक्रिट आवश्यक पर्नेमा गत चैत ७ गतेदेखि कंक्रिट ढलानको काम सुरु गरिएको हो।

यसअघि सेती नदीलाई सुरुङमार्फत फर्काएर बाँधको जग खन्ने काम सम्पन्न गरिएको थियो। हाल बाँधको जगमाथि औसत १० मिटर उचाइसम्म कंक्रिटका ब्लकहरू निर्माण भइसकेका छन्।

आयोजनाको प्याकेज-१ अन्तर्गतको बाँध निर्माणमा हालसम्म ४३.५ प्रतिशत भौतिक प्रगति भएको छ। यसैगरी, प्याकेज-२ अन्तर्गत भूमिगत विद्युत्गृह निर्माणको काम ६७ प्रतिशत र प्याकेज-३ अन्तर्गत प्रसारणलाइन निर्माण ७४ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ।

आयोजनाको समग्र निर्माण वि.सं. २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ। ५० करोड ५० लाख अमेरिकी डलर अनुमानित लागतको यस आयोजनामा एसियाली विकास बैंक (एडीबी), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), युरोपियन लगानी बैंक तथा नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *