गुल्मीमा अविरल वर्षाका कारण बाढी पहिराे, मुख्य सडकहरू अवरुद्ध

गुल्मी, २३ साउन । गुल्मी जिल्लामा केही दिनदेखि जारी अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । बाढी र पहिरोले जिल्लाका दुई मुख्य सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन् भने नदी तटीय क्षेत्रमा जोखिम बढेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, रिडी–वामीटक्सार सडकखण्डको सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा लेदोसहितको बाढी आउँदा सडक पूर्ण रूपमा बन्द भएको छ । यो सडक अवरुद्ध हुँदा रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म चल्ने सवारीसाधन रोकिएका छन् । तीन दिनअघि मात्रै सोही खोलाले एउटा कार बगाएको थियो, जसले गर्दा उक्त क्षेत्र थप जोखिमपूर्ण बनेको छ ।

त्यसैगरी, रुरुक्षेत्र गाउँपालिका–१ को साँखरमा सुक्खा पहिरो खस्दा रिडी–खञ्ज्याङ सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक खुलाउने प्रयास जारी रहे पनि लगातारको वर्षाले कठिनाइ भएको प्रहरीले जनाएको छ ।

वर्षाका कारण कालीगण्डकी र बडिगाड खोलामा पानीको सतह बढेको छ । जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गुल्मीका २०० भन्दा बढी स्थान बाढी पहिरोको उच्च जोखिममा छन् ।