सुनसरीमा बस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
धरान, २४ साउन । सुनसरीको इटहरी–धरान सडकखण्ड अन्तर्गत पानीपिया जङ्गलमा आज बस र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको विर्तामोड नगरपालिका–५ का स्कुटर चालक सुजन विक र पछाडि सवार सुरज विक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को २२ प २१२५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । तर, उपचारकै क्रममा दिउँसो करिब १२:३० बजे उनीहरूको मृत्यु भएको प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो ।
प्रहरीले ठक्कर दिने बसका चालक उदयपुरको बेलका नगरपालिका–३ का प्रेम मगरलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।