सप्तकोशीमा जलसतह बढ्यो, खतराको संकेतसहित २८ ढोका खुला
सुनसरी, २५ साउन । पूर्वी पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव खतराको तहमा पुगेको छ।
जलसतह बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये २८ वटा ढोका खोलिएको छ र खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ हेडक्र्वाटरका अनुसार शनिबार राति ९ बजे गरिएको पछिल्लो मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्युसेक रेकर्ड गरिएको छ। कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेत दिइने प्रावधान छ।
सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले हालसम्म नदीको पूर्वी तटबन्ध सुरक्षित रहेको र कुनै क्षति नभएको जानकारी दिनुभएको छ। केही दिनदेखिको अविरल वर्षाका कारण नदीमा पानीको बहाव उच्च भएको हो।