टप एण्ड टी–२० क्रिकेट खेल्न अस्ट्रेलिया जाने टिमको विदाइ

काठमाडौँ, २५ साउन । नेपाल क्रिकेट संघ (क्यान) आइतबार टप एण्ड टी–२० क्रिकेट खेल्न अस्ट्रेलिया जाने नेपाल क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

सो प्रतियोगिताअष्ट्रेलियामा यही अगष्ट १४ देखि २४ सम्म हुँदैछ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का लगायतले बिदाइ गरे ।
नेपालसहित ११ टोली सहभागी हुने यस सिरिजमा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ ।

नेपालले आफ्नो पहिलो खेल अगस्ट १५ मा स्थानीय टिम नर्दर्न टेरिटोरी स्ट्राइक, दोस्रो खेल अगस्ट १६ मा बंगलादेश ‘ए’, तेस्रो खेल अगस्ट १८ मा मेलबर्न स्टार्स, चौथो खेल अगस्ट १९ मा होबार्ट हरिकेन्स, पाँचौं खेल अगस्ट २० मा मेलबर्न रेनेगेड्स र अन्तिम लिग खेल अगस्ट २२ मा पाकिस्तान शाहीन्स विरुद्ध खेल्नेछ ।

आगामी अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीस्वरुप नेपालले यो प्रतियोगिता खेल्न लागेको हो । नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग पनि खेल्दैछ । नेपालले टेस्ट राष्ट्रको सिनियर टिमसँग क्रिकेट शृङ्खला खेल्न लागेको यो पहिलो पटक हो ।

नेपाली टिममा कप्तानमा रोहित पौडेल र उपकप्तानमा दीपेन्द्र सिंह ऐरी रहेका छन् । यसैगरी सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र शाहब आलम पनि छन् । शाहब अन्तिम समयमा ललित राजवंशीको स्थानमा टिममा परेका हुन् । मातृशोक परेकोले ललित अस्ट्रेलिया जान नसक्ने भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *