लगातारको पहिरोले मोदीको कोरुङ्गा गाउँ उच्च जोखिममा, स्थानीय त्रासमा

पर्वत, २६ साउन । लगातारको वर्षाका कारण पर्वतको मोदी गाउँपालिका-२, देउपुरस्थित कोरुङ्गा गाउँ पहिरोको उच्च जोखिममा परेको छ। एक दशकअघि सडक निर्माणसँगै सुरु भएको पहिरो अहिले बस्तीसम्मै आइपुगेपछि सिंगो गाउँ नै त्रासमा छ भने आधा दर्जन परिवार विस्थापित हुने अवस्थामा पुगेका छन्।

पहिरोले स्थानीय टीकाराम जैसीको घर पूर्ण रूपमा भत्काएको छ भने कुमार केसी लगायत अन्य पाँच परिवारका घर उच्च जोखिममा परेका छन्। घरबास नै गुमेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा जैसीको परिवारलाई सुरक्षित स्थानमा अस्थायी टहरा बनाएर सारिएको छ। रोकथामको प्रभावकारी प्रयास नहुँदा आफूहरू रातभर जाग्राम बस्न बाध्य भएको स्थानीय बाबुराम जैसीले गुनासो गर्नुभयो।

यो पहिरोले गाउँपालिकाको केन्द्रलाई वडा नं. १, २, ३ र ४ सँग जोड्ने मुख्य पातीचौर–देउपुर–लप्सीबोट सडक पनि पूर्ण रूपमा अवरुद्ध बनाएको छ। गत वर्ष पनि तीन महिना बन्द भएको यो सडकको करिब दुई किलोमिटर पक्की खण्ड क्षतिग्रस्त बनेको छ। वैकल्पिक सडकहरू समेत मर्मत नहुँदा आवतजावतमा गम्भीर समस्या परेको स्थानीयले बताएका छन्।

स्थानीयहरूले वातावरणीय पक्षलाई बेवास्ता गरी अव्यवस्थित रूपमा सडक खन्नु र उचित निकासको प्रबन्ध नहुनु नै पहिरोको मुख्य कारण भएको बताएका छन्। जिल्ला प्रहरी कार्यालय, पर्वतले पहिरो नरोकिएकाले कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।