खोटाङमा पहिरोले मध्यपहाडी लोकमार्ग ठप्प, हलेसी हिँडेका सयौँ तीर्थयात्री अलपत्र

खोटाङ, २६ साउन । लगातारको वर्षाका कारण खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सयौँ यात्रु तथा तीर्थालुहरू बीच बाटोमै अलपत्र परेका छन्।

आज बिहान हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटारमा करिब १०० मिटर सडक ढाक्ने गरी ठूलो पहिरो खस्दा जयराम–हलेसी सडकखण्ड पूर्ण रूपमा बन्द भएको हो।

सडक अवरुद्ध भएसँगै साउनको अन्तिम सोमबार ‘बोलबम’ मेलाका लागि त्रिधार्मिक स्थल हलेसीतर्फ आउँदै गरेका सयौँ तीर्थयात्रीहरू सबैभन्दा बढी प्रभावित भएका छन्। काठमाडौँ र तराईका विभिन्न जिल्लाबाट आएका उनीहरू बीच सडकमै अलपत्र परेका छन्।

जिल्ला प्रहरी कार्यालय, खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार, पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने देखिएको छ। हाल दिक्तेलतर्फबाट जाने सवारीलाई दुर्छिममा र जयरामघाटतर्फबाट आउने सवारीलाई जयराममै रोकिएको छ।

हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले साउनको अन्तिम सोमबार तीर्थालुको चाप अत्यधिक हुने समयमा पहिरो जाँदा ठूलो समस्या सिर्जना भएको बताउनुभयो। “अलपत्र परेका तीर्थयात्रीहरूको उद्धारका लागि सबै संयन्त्र परिचालन गरिएको छ, तर निरन्तरको वर्षाले पहिरो हटाउने काममा बाधा पुगेको छ,” उहाँले भन्नुभयो।

नगरप्रमुख विमला राईले नगरपालिका र मध्यपहाडी लोकमार्ग आयोजनाको स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने प्रयास भइरहेको जानकारी दिनुभयो। “पहिरो ठूलो भएकाले सडक तत्काल खुल्ने अवस्था छैन। हामी यात्रुहरूलाई यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गर्दछौँ,” उहाँले भन्नुभयो।

हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको पवित्र संगमस्थल हलेसीमा साउन महिनाभर लाग्ने बोलबम मेला भर्न नेपालका विभिन्न जिल्लासहित भारत, चीन र भुटानबाट समेत श्रद्धालुहरू आउने गर्दछन्।