पहिरोले कालीगण्डकी करिडोर तीन दिनदेखि ठप्प, यात्रु अलपत्र

बागलुङ, २६ साउन । लगातारको वर्षासँगै खसेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड विगत तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

बागलुङ नगरपालिका–१३ स्थित कालाखोला बगरमा शनिबार चट्टानसहितको पहिरो खस्दा सडक बन्द भएको हो, जसका कारण सयौँ यात्रुहरू अलपत्र परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार, पहिरोमा ठूला-ठूला चट्टान खसेकाले हटाउन निकै चुनौतीपूर्ण बनेको छ। आइतबार दिनभर दुईवटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने प्रयास गरिए पनि सफल हुन सकेन।

अवरुद्ध सडक खुलाउन आज बिहानैदेखि पुनः प्रयास थालिएको छ। प्रहरीले कालीगण्डकी करिडोर आयोजनासँग समन्वय गरी पहिरो पन्छाउने कामलाई तीव्रता दिएको जनाएको छ। सडक अवरुद्ध हुँदा बागलुङको दक्षिणी भेग तथा पर्वत र गुल्मीसँगको सम्पर्क टुटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *