बस भित्र अचेत अवस्थामा भेटिएका वृद्धको मृत्यु
तनहुँ, २६ साउन । तनहुँमा बसमा यात्रा गरिरहेका एक वृद्धको मृत्यु भएको छ। कास्कीको पोखरा महानगरपालिका–३२, मालागिरि निवासी करिब ७० वर्षीय गुञ्जबहादुर विक बसभित्रै अचेत अवस्थामा भेटिएका थिए।
इलाका प्रहरी कार्यालय बेलचौताराका अनुसार, कास्कीको गगनगौंडाबाट तनहुँको दुलेगौंडातर्फ आउँदै गरेको बसमा उनी अचेत भेटिएका हुन्। शुक्लागण्डकी नगरपालिका–४, दुलेगौडास्थित बन्केवाचोकमा बसबाट झारेपछि प्रहरीले उद्धार गरी जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरी निरीक्षक पोषण थापाका अनुसार मृतक विक तनहुँको शुक्लागण्डकी–६, वयामस्थित छोरीको घरमा बस्दै आएका थिए। प्रत्यक्षदर्शीका अनुसार, बसमा उनले केही पटक बान्ता गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।