सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्न एउटै शक्तिशाली निकाय बनाऔँ : मन्त्री न्यौपाने
काठमाडौँ, २८ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जातीय तथा अन्य सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्न धेरै र कमजोर संरचनाको सट्टा एउटै शक्तिशाली र एकीकृत निकाय बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले हाल विद्यमान धेरै संरचनाहरूले समन्वयभन्दा पनि अन्योल सिर्जना गरेको बताउँदै अब बन्ने कानुनमा यस्तो व्यवस्था गरिनुपर्ने धारणा राख्नुभयो ।
आज काठमाडौँमा आयोजित ‘दलित समुदायको हक अधिकारसम्बन्धी प्रचलित कानुनी व्यवस्था’ बारेको एक छलफल कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले भन्नुभयो, “दलित अधिकारका लागि संविधानमा भएका व्यवस्थालाई आधार मानेर हामी छिट्टै नयाँ ऐन बनाउँछौँ । विभेद हटाएर गणतन्त्रलाई बलियो बनाउन यो आवश्यक छ ।”
उहाँले दलित समुदायको अधिकार सुनिश्चित गर्न बाँकी रहेका कानुन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको पनि बताउनुभयो । कार्यक्रममा दलित अधिकारकर्मी सुशील विकेले दलित अधिकारसम्बन्धी कानुनी व्यवस्थाको अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।