अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा पर्यटन विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ, ३० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा एक सरकारी कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभाग, भृकुटीमण्डपमा कार्यरत सचिन्द्रकुमार यादवमाथि पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको अभियोग लगाइएको छ ।
आयोगले यादवको सार्वजनिक सेवा प्रवेश मिति २०६६ जेठ २४ देखि २०७९ साउन २९ सम्मको सम्पत्ति विश्लेषण गरेको थियो । अनुसन्धानका क्रममा यादवले सो अवधिमा २ करोड ६८ लाख १८ हजार ९०० रुपैयाँ वैध रूपमा कमाएको देखियो । तर, उनको कुल खर्च तथा लगानी भने ३ करोड ६५ लाख ४ हजार ४५३ रुपैयाँ पुगेको पाइयो ।
अनुसन्धान प्रतिवेदनअनुसार यादवको ९६ लाख ८५ हजार ५५३ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न सकेको छैन । अख्तियारले यादवले आफ्नो पदीय अधिकारको दुरुपयोग गरी अस्वाभाविक र अमिल्दो जीवनशैली अपनाएको तथा गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबी गरेको छ ।
साथै, उनले अवैध तरिकाले कमाएको सम्पत्ति आफ्नी पत्नी आशाकुमारी यादवको नाममा समेत राखेको अनुसन्धानबाट खुलेको छ । यही आधारमा अख्तियारले सचिन्द्रकुमार र उनकी पत्नी आशाकुमारी दुवैलाई प्रतिवादी कायम गरी मुद्दा चलाएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।