कुवेतमा विषाक्त मदिरा सेवनबाट ९ नेपालीको मृत्यु, दर्जनौं अस्पताल भर्ना

काठमाडौं, ३० साउन । रोजगारीका लागि कुवेतमा रहेका ९ जना नेपाली कामदारको विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको छ।

पछिल्लो तीन दिनमा भएको यो दुःखद घटनामा अन्य एसियाली मुलुकका नागरिकसहित कुल २३ जनाको ज्यान गएको छ भने १६० भन्दा बढी गम्भीर अवस्थामा अस्पताल भर्ना भएका छन्।

कुवेतस्थित नेपाली राजदूतावासले घटनाको पुष्टि गर्दै मृतकहरूको विवरण संकलन गर्ने काम भइरहेको जनाएको छ। दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार, आधिकारिक मेडिकल रिपोर्ट आउन बाँकी भए पनि प्रारम्भिक अनुसन्धानले मृत्युको कारण विषाक्त मदिरा नै देखाएको छ। उनले केही नेपालीहरू अझै उपचाररत रहेको र केहीलाई उपचारपछि डिस्चार्ज गरिएको जानकारी दिए।

कुवेतको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, मदिरामा ‘मेथानोल’ नामक विषालु रसायन मिसाइएको पाइएको छ। मेथानोल औद्योगिक क्षेत्रमा एन्टिफ्रिज, घोलक (सोल्भेन्ट) र इन्धनको रूपमा प्रयोग हुने एक खतरनाक रसायन हो, जुन मानव सेवनका लागि पूर्णतया अयोग्य मानिन्छ। सामान्यतया पिउन प्रयोग हुने मदिरामा ‘एथानोल’ हुन्छ, तर मेथानोलले स्नायु प्रणाली र शरीरका भित्री अंगहरूमा गम्भीर असर पुर्‍याएर मृत्यु समेत गराउन सक्छ।

विषाक्त मदिरा सेवन गरेका बिरामीहरूको आदान, फर्वनिया र मुबारक अलकबीर जस्ता प्रमुख अस्पतालहरूमा उपचार भइरहेको छ। बिरामीहरूमा मिर्गौला फेल हुने, पूर्ण वा आंशिक रूपमा दृष्टि गुम्ने, बान्ता हुने र कोमामा जाने जस्ता गम्भीर लक्षणहरू देखिएका छन्। पीडितहरूमा अधिकांश निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरू रहेको बताइएको छ।

कुवेतमा मदिरा उत्पादन, बिक्री-वितरण र सेवनमाथि पूर्ण प्रतिबन्ध छ। यसका बाबजुद, त्यहाँ लुकिछिपी अवैध रूपमा मदिरा उत्पादन र बेचबिखन हुने गरेको छ।