मनसुन कमजोर भए पनि कोशी र बागमतीमा भारी वर्षाको सम्भावना
काठमाडौँ, १ भदौ । मनसुनको न्यूनचापीय रेखा आफ्नो औसत स्थानभन्दा दक्षिणतर्फ सरेकाले नेपालमा मनसुनी गतिविधि केही कमजोर बनेको छ। यद्यपि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले वर्षाको सम्भावना भने कायमै रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार, आज दिउँसो देशभर मौसम सामान्यतया बदली रहनेछ। कोशी, बागमती र मधेश प्रदेशका केही स्थानका साथै अन्य प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
यस्तै, आज राति कोशी, मधेश र सुदूरपश्चिम प्रदेशमा मौसम बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुनेछ। रातिको समयमा कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई र पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।