चार महिनामा २८ सयभन्दा बढी विपद्का घटना, १२६ जनाको मृत्यु, २३ बेपत्ता
काठमाडौँ, १ भदौ । गत चार महिनाको अवधिमा नेपालभर दुई हजार आठ सयभन्दा बढी विपद्का घटना भएका छन्, जसमा परेर १२६ जनाले ज्यान गुमाएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाखदेखि साउन ३१ गतेसम्म भएका यी घटनामा ५८५ जना घाइते भएका छन् भने २३ जना अझै बेपत्ता छन्।
प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा विपद्का घटनामध्ये आगलागी सबैभन्दा बढी देखिएको छ। कुल १,११४ आगलागीका घटना भएका छन्। त्यसपछि मनसुनजन्य विपत्तिहरू जस्तै पहिरो (३१७), भारी वर्षा (२२१) र बाढी (२१६) का घटनाहरू बढी भएका छन्। चट्याङबाट २४५ र हुरीबतासबाट २७७ घटना भएको तथ्याङ्कमा उल्लेख छ।
यी विपद्का कारण देशभरका ५,०४१ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
साउन ३१ गते मात्रै देशभर आगलागी, बाढी, पहिरो, अविरल वर्षा र जनावर आक्रमणका २३ वटा घटना भएका थिए, जसमा एक जनाको मृत्यु भएको छ। एकै दिनमा करिब ३८ लाख ४० हजार बराबरको क्षति अनुमान गरिएको प्राधिकरणले जनाएको छ।