पाकिस्तानमा भीषण बाढीले मृत्यु हुनेको संख्या ३३२ पुग्यो

एजेन्सी, १ भदौ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भीषण वर्षा र बादल फुटेर (क्लाउड ब्रस्ट) आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या ३३२ पुगेको छ। विपत्तिको भयावह स्थितिलाई ध्यानमा राख्दै प्रान्तीय सरकारले सबैभन्दा बढी प्रभावित जिल्लाहरूमा संकटकाल घोषणा गरेको छ।

पाकिस्तानी सञ्चारमाध्यम ‘द डन’का अनुसार, शुक्रबारदेखि सुरु भएको अविरल वर्षापछिको बाढीले ठूलो जनधनको क्षति गरेको हो। प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले सबैभन्दा बढी क्षति बुनेर जिल्लामा भएको जनाएको छ, जहाँ पछिल्लो ४८ घण्टामा २०८ जनाले ज्यान गुमाएका छन्। सोही जिल्लामा १२० जना घाइते भएका छन् भने ५० जना अझै बेपत्ता छन्।

यसैगरी, शाङ्लामा ३७, मानसेहरामा २३, स्वातमा २२, बाजौरमा २१, बट्टाग्राममा १५ र लोअर दीरमा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ। बाढीको विनाश यतिमै सीमित रहेन; राहत तथा उद्धार कार्यमा खटिएको एक हेलिकप्टर मोहमान्दमा दुर्घटना हुँदा चालक दलका पाँच सदस्यको समेत मृत्यु भएको छ।

खैबर पख्तुनख्वा सरकारले बुनेर, बाजौर, स्वात, शाङ्ला लगायत सबैभन्दा बढी प्रभावित जिल्लाहरूमा अगस्ट ३१ सम्मका लागि संकटकाल लागू गरेको छ। सरकारले तत्काल राहत र पुनर्स्थापनाका लागि पिडिएमएलाई १ अर्ब तथा क्षतिग्रस्त सडक र पुल मर्मतका लागि १ अर्ब ५५ करोड पाकिस्तानी रुपैयाँभन्दा बढी निकासा गरेको छ।

बाढीले ११ वटा घर पूर्ण रूपमा ध्वस्त पारेको छ भने ६३ वटा घरमा आंशिक क्षति पुर्‍याएको छ।
सञ्चार सेवा अवरुद्ध

पाकिस्तान दूरसञ्चार प्राधिकरण (पिटिए) ले बाढीले मोबाइल टावर र ल्यान्डलाइनमा क्षति पुर्‍याउँदा प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको जनाएको छ। यसैबीच, मोबाइल सेवा प्रदायक ‘ज्याज’ले बाढी प्रभावित सबै ग्राहकका लागि आफ्नो नेटवर्कमा निःशुल्क कल सुविधा उपलब्ध गराउने घोषणा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *