देशभर मनसुन कमजोर, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, २ भदौ। मनसुनको न्यून चापीय रेखा आफ्नो औसत स्थानभन्दा दक्षिणतिर सरेकाले नेपालमा मनसुनी गतिविधि केही कमजोर बनेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज देशभर मनसुनको प्रभाव आंशिक रूपमा मात्र रहनेछ।
मनसुनी प्रणाली कमजोर भए पनि बंगालको खाडीबाट नेपाल भित्रिरहेको जलवाष्पयुक्त हावाका कारण देशभरको मौसम सामान्यतया बदली रहने महाशाखाले जनाएको छ।

यसका कारण कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विशेषगरी, लुम्बिनी प्रदेशको तराई क्षेत्र तथा बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ। महाशाखाले उक्त क्षेत्रहरूमा वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट सजग रहन आग्रह गरेको छ।