रोल्पामा विषालु च्याउ खाएका वृद्ध दम्पतीकाे एक दिनको अन्तरमा मृत्यु

रोल्पा, २ भदाै । रोल्पाको परिवर्तन गाउँपालिका-२, राङसीमा जंगली च्याउ खाँदा गम्भीर बिरामी परेका एक वृद्ध दम्पतीको मृत्यु भएको छ।

८१ वर्षीय भागीराम वली र उनकी ७४ वर्षीया श्रीमती नर्मला वलीको दाङमा उपचारका क्रममा एक दिनको अन्तरालमा ज्यान गएको हो।

प्रहरीका अनुसार, वली दम्पतीले साउन २७ गते जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि बिरामी परेका थिए। स्थानीय स्तरमा उपचार सम्भव नभएपछि उनीहरूका छोरा मनबहादुरले दुवैलाई दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेका थिए।

उपचारकै क्रममा श्रीमती नर्मलाको शनिबार (साउन ३१ गते) र श्रीमान् भागीरामको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी, प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए।

आफ्नै बुवाआमालाई बचाउन अस्पताल ल्याएका छोरा मनबहादुरले दुवैलाई गुमाउनुपर्दा परिवारमा ठूलो बज्रपात परेको छ। परिवर्तन गाउँपालिका-२ का वडाध्यक्ष हरिप्रसाद बुढामगरका अनुसार, दुवैको शव पोष्टमार्टमपछि दाङमै अन्त्येष्टि गरिएको छ। यो दुःखद घटनाले पूरै गाउँ शोकमा डुबेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *