अलैँचीको मूल्य ७ वर्षयताकै उच्च, किसान उत्साहित
झापा, २ भदौ । पूर्वी पहाडको प्रमुख नगदे बाली र ‘खोल्साको सुन’ भनेर चिनिने अलैँचीले यस वर्ष उत्पादनको सुरुवातमै कीर्तिमानी मूल्य पाएको छ, जसले किसानहरूमा उत्साह छाएको छ।
नेपालको सबैभन्दा ठूलो अलैँची बजार, झापाको बिर्तामोडमा आज प्रतिमन (४० केजी) अलैँची ९४ हजार रुपैयाँमा कारोबार भएको छ। नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी निर्देशक अनिल ढुङ्गानाका अनुसार यो मूल्य विगत सात वर्षयताकै सबैभन्दा उच्च हो। “गत वर्ष यही सिजनमा प्रतिमन ४० हजार रुपैयाँ मात्र थियो,” उहाँले भन्नुभयो, “अहिलेको मूल्यले किसानलाई ठूलो राहत दिएको छ।”
विगतमा विसं २०७५ सालमा अलैँचीको मूल्य प्रतिमन एक लाख पाँच हजारसम्म पुगेको थियो। सिजनको सुरुवातमै उच्च मूल्य पाइनुले आगामी महिनाहरूमा भाउ अझै बढ्न सक्ने सङ्केत देखिएको व्यवसायीहरू बताउँछन्।
मूल्यवृद्धिको प्रत्यक्ष फाइदा किसानलाई पुगेको छ। बाली टिपेर बेच्ने समयमै राम्रो भाउ पाएपछि उनीहरू हर्षित छन्। “एक मन अलैँची उत्पादन गर्न किसानको औसत लगानी २० हजार रुपैयाँ हुन्छ,” ढुङ्गानाले भन्नुभयो, “अहिलेको मूल्यले उनीहरूलाई राम्रो मुनाफा सुनिश्चित गरेको छ।”
नेपालका ४२ जिल्लामा खेती हुने अलैँची विशेषगरी कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम र सङ्खुवासभालगायतका जिल्लामा अत्यधिक उत्पादन हुन्छ।
आर्थिक वर्ष २०८१/८२ मा काँकडभिट्टा नाकाबाट मात्रै ७ अर्ब ६७ करोड रुपैयाँ बराबरको अलैँची भारत निर्यात भएको थियो।
नेपालमा उत्पादित ९० प्रतिशत अलैँची भारत निर्यात हुन्छ। तर, नेपाली अलैँचीले सोझै विश्व बजारमा पहुँच बनाउन नसक्दा भारतले नै ‘ब्रान्डिङ’ गरेर तेस्रो मुलुक पठाउने गरेको छ, जसबाट नेपालले अपेक्षाकृत लाभ लिन सकेको छैन।
