विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिमा पेस, छात्रवृत्तिको आवास सुविधामा मतभेद कायमै
काठमाडौँ, २ भदौ। लामो समयदेखि चर्चामा रहेको विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी प्रतिवेदन संसदीय उपसमितिले तयार गरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेस गरेको छ। तर, निजी विद्यालयले प्रदान गर्ने पूर्ण छात्रवृत्तिमा आवास सुविधाको व्यवस्थालाई लिएर समितिमा मतभेद कायमै रहेको छ।
उपसमितिले तयार पारेको प्रतिवेदन समितिका सचिव दशरथ धमलाले सभापति अम्मरबहादुर थापालाई हस्तान्तरण गर्नुभएको हो। प्रतिवेदनमाथि अध्ययनका लागि सदस्यहरूलाई दुई दिनको समय दिइएको छ भने आगामी भदौ ५ गते विस्तृत छलफल हुने तय भएको छ।
विवाद के हाे ?
प्रतिवेदनमा सबैभन्दा बढी विवादित विषय पूर्ण छात्रवृत्ति बनेको छ। अधिकांश सांसदहरूले निजी विद्यालयले कम्तीमा १० प्रतिशत पूर्ण छात्रवृत्ति पाउने विद्यार्थीलाई आवास सुविधा दिनुपर्ने अडान राखेका छन्।
यता, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने २.५ प्रतिशतमा मात्रै आवास सुविधा दिने प्रस्ताव गरेको छ। शिक्षामन्त्री रघुजी पन्तले भने यो व्यवस्थालाई कानुनमा नभई नियमावलीमा राख्न उपयुक्त हुने सुझाव दिनुभएको छ। उहाँले निजी विद्यालयहरूलाई कडाइ गर्नुपर्ने तर “घाँटी समाउने गरी” नियमन गर्न नहुने बताउनुभयो।
यो विवादित विषयमा सहमति जुटाउनु अब समितिका लागि मुख्य चुनौती हुने देखिएको छ