कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, मनसुन भने कमजोर
काठमाडौँ, ३ भदौ । मनसुनको न्यूनचापीय रेखा दक्षिणतर्फ सरेकाले नेपालमा मनसुनी गतिविधि केही कमजोर बनेको छ। यद्यपि, बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले वर्षाको सम्भावना भने कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुन सक्ने देखिएको छ।
आज दिउँसो देशभर मौसम सामान्यतया बदली रहनेछ। महाशाखाको पूर्वानुमानअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसैगरी, कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ भने मधेस प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुन सक्छ।
आज राति कोशी र गण्डकी प्रदेशसहित देशका अन्य पहाडी भूभागमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदली रहनेछ। रातिको समयमा कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानका साथै अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी प्रदेशका पहाडी र तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।