कार्यसम्पादन सम्झौताको पूर्ण कार्यान्वयन गर्न मन्त्री गुरुङको निर्देशन

काठमाडौँ, ३ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय र मातहतका निकायहरूलाई चालु आर्थिक वर्षको कार्यसम्पादन सम्झौतालाई शतप्रतिशत कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा आज आयोजित आव २०८२/८३ को कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा उहाँले सम्झौताअनुसारका लक्ष्य हासिल गर्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्त्री गुरुङ र मन्त्रालयका सचिव राधिका अर्यालबीच वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौतापछि बोल्दै मन्त्री गुरुङले पुराना ऐन, कानुन र नीतिहरूलाई समयसापेक्ष परिमार्जन गर्ने, भौतिक पूर्वाधार निर्माणलाई गति दिने तथा दक्ष जनशक्तिको विकास गर्ने जस्ता विषय मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले ‘एनटिभी वर्ल्ड’ सञ्चालन गर्ने, नयाँ सञ्चार नीति र ऐन ल्याउने तथा सुरक्षण मुद्रण केन्द्रबाट बैंक नोटबाहेकका महत्त्वपूर्ण सरकारी कागजात छाप्ने काम यसै वर्ष सुरु गरिने लक्ष्य रहेको जानकारी दिनुभयो ।

विगतका वर्षहरूमा सम्झौताअनुरूप काम हुन नसकेको यथार्थलाई स्वीकार्दै उहाँले यसपटक परिणाममुखी काम गर्न निर्देशन दिनुभयो । “सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति अब चल्दैन,” मन्त्री गुरुङले भन्नुभयो, “सम्झौता केवल औपचारिकताका लागि होइन, तोकिएको लक्ष्य पूरा गर्नका लागि हो ।” उहाँले पुँजीगत खर्च बढाउन पनि विशेष जोड दिनुभयो ।

सो अवसरमा सचिव राधिका अर्यालले गत वर्ष कार्यसम्पादनमा १९ प्रतिशतले सुधार भए पनि पुँजीगत खर्चको अवस्था भने सन्तोषजनक नरहेको बताउनुभयो । उहाँले सम्झौता कार्यान्वयनमा आउने कुनै पनि समस्या समाधान गर्न मन्त्रालय तयार रहेको बताउँदै मातहतका निकायहरूलाई परिणाम देखिने गरी काम गर्न आग्रह गर्नुभयो । सचिव अर्यालले कामको सङ्ख्याभन्दा गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी, मन्त्रालयका सहसचिव कोशहरी निरौलाले कार्यसम्पादन सम्झौताले कर्मचारीलाई थप उत्तरदायी बनाउने विश्वास व्यक्त गर्दै यसको प्रभावकारी कार्यान्वयनमा सबै लाग्नुपर्ने बताउनुभयो ।