मनसुन कमजोर बन्दै, तर वर्षाको सम्भावना कायमै
काठमाडौँ, ४ भदौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, नेपालमा मनसुनी प्रणाली क्रमशः कमजोर बन्दै गएको छ।
मनसुनको न्यून चापीय रेखा आफ्नो औसत स्थानभन्दा दक्षिणतिर सरेकाले मनसुन केही शिथिल बनेको हो। यद्यपि, बङ्गालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको प्रभाव भने कायमै रहेको महाशाखाले जनाएको छ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम आंशिक बदली हुनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै अन्य पहाडी इलाका र तराईका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशसहित देशका पहाडी क्षेत्रमा मौसम सामान्यतया बदली रहनेछ। यी प्रदेशहरूका पहाडी तथा तराई भेगका केही स्थानमा मध्यम वर्षाको अनुमान गरिएको छ। साथै, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान छ।
महाशाखाले वर्षाका कारण उत्पन्न हुनसक्ने सम्भावित जोखिमबारे सचेत गराएको छ। पहाडी भूभागमा पहिरो र गेग्रान बहावको खतरा रहेको, नदी तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात सेवा अवरुद्ध हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न सबैमा आग्रह गरिएको छ।