पर्वतमा अटोरिक्सा दुर्घटना: एक जनाको मृत्यु, चालकसहित चार घाइते
पर्वत, ७ भदौ । पर्वतको फलेवास नगरपालिका–१० कुर्घामा आज दिउँसो भएको अटोरिक्सा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । महाशिला गाउँपालिकाको लुङ्खुदेउरालीबाट बिहादी गाउँपालिका–१ बाच्छातर्फ जाँदै गरेको ध १ ह ६१ नम्बरको अटो सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा बिहादी गाउँपालिका–१ बाच्छा देउरालीका ४९ वर्षीय प्रेमबहादुर विकको ज्यान गएको छ । गम्भीर घाइते विकलाई उपचारका लागि कुश्मास्थित प्रदेश अस्पताल ल्याइएकोमा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजनकुमार पटेलले जानकारी दिनुभयो ।
दुर्घटनामा परी अटोमा सवार तीन यात्रु र चालक घाइते भएका छन् । घाइते हुनेहरूमा बिहादी–१ की २४ वर्षीया कविता विक, १५ वर्षीया अञ्जुली विक र १३ वर्षीया दुर्गा विक रहेका छन् । उनीहरूको खुट्टा र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
यस्तै, अटो चालक फलेवास नगरपालिका–११ पङराङका ३६ वर्षीय मनबहादुर परियार पनि घाइते हुनुभएको छ । उहाँको ढाड र कुममा भित्री चोट लागेको छ । घाइते सबैको अहिले प्रदेश अस्पताल कुश्मामा उपचार भइरहेको छ ।
प्रहरी निरीक्षक पटेलका अनुसार ओरालो बाटोमा गुडिरहेको अटोको ब्रेक नलागेका कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।