टेम्केमैयुङमा व्यावसायिक कृषिलाई प्रोत्साहन, रायो र मूलाको बजार सुनिश्चित गर्न विशेष पहल
भोजपुर, ८ भदौ ।भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न र उत्पादित कृषि उपजको बजार सुनिश्चित गर्न विशेष पहल सुरु गरेको छ । गाउँपालिकाले उन्नत जातको रायो र मूला खेती प्रवर्द्धनका लागि बीउ वितरणको तयारीसँगै उत्पादित वस्तु खरिदका लागि निजी क्षेत्रसँग पूर्वसम्झौता गरेको हो ।
किसानले उत्पादन गरेका रायो र मूलाको बजारीकरणमा देखिन सक्ने समस्या समाधान गर्न गाउँपालिकाले सिद्धकाली एग्रो प्रालि भोजपुरसँग खरिद सम्झौता गरेको छ । सम्झौताअनुसार न्यूनतम समर्थन मूल्य निर्धारण गरी किसानबाट उत्पादित ५०० टन रायो र ५०० टन मूला खरिद गरिने सुनिश्चितता गरिएको छ ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले किसानलाई उत्पादनमा मात्र सीमित नराखी उनीहरूको उपजको बजार सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व भएको बताउनुभयो । “उत्पादन हुनुअघि नै खरिद सम्झौता गरिएकाले किसानलाई आफ्नो उत्पादन बिक्री हुनेमा ढुक्क भएर व्यावसायिक खेतीमा लाग्न प्रोत्साहन मिल्नेछ,” अध्यक्ष बस्नेतले उल्लेख गर्नुभयो ।
गाउँपालिकाले कृषि विकास शाखाको स्वीकृत कार्यक्रमअन्तर्गत उन्नत जातको बीउ उपलब्ध गराउन किसानहरूबाट आवेदन माग गरिसकेको छ । प्रमुख प्रशासकीय अधिकृत अदित दाहालका अनुसार किसानलाई बीउ वितरणसँगै खेती गर्ने आधुनिक प्रविधिबारे प्राविधिक सहजीकरण समेत उपलब्ध गराइनेछ । कृषि उपजले उचित मूल्य नपाउने र बजारको अभाव हुने समस्यालाई यो सम्झौताले दीर्घकालीन रूपमा हल गर्ने विश्वास गाउँपालिकाले लिएको छ ।
गाउँपालिका उपाध्यक्ष रमादेवी राईले स्थानीय अर्थतन्त्रको मुख्य आधार कृषिलाई बनाएर उत्पादनमुखी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । यो अभियानले बाह्य क्षेत्रबाट आयात हुने तरकारीमाथिको निर्भरता घटाउनुका साथै स्थानीय किसानको आम्दानी वृद्धिमा प्रत्यक्ष सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
रायो र मूलाको व्यावसायिक उत्पादनमार्फत टेम्केमैयुङलाई कृषिमा आत्मनिर्भर बनाउने र किसानको आर्थिक स्तर उकास्ने लक्ष्यसहित गाउँपालिकाले यस कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।