काभ्रेलाई नसर्ने रोगको ‘राष्ट्रिय सिकाइ केन्द्र’ बनाइने : १० हजार नागरिकले लिइरहेका छन् उच्च रक्तचापको औषधि
काठमाडौँ, भदौ ८ । काभ्रेपलाञ्चोक जिल्लालाई नसर्ने रोग रोकथाम तथा व्यवस्थापनका लागि ‘राष्ट्रिय नमूना तथा सिकाइ केन्द्र’का रूपमा विकास गरिने भएको छ । प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण गर्दै जिल्लालाई देशकै उदाहरणीय केन्द्र बनाउन यहाँका १३ वटै स्थानीय तहका प्रमुखहरूले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्वास्थ्य सेवा विभाग, नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका अनुसार जिल्लामा उच्च रक्तचाप नियन्त्रणका लागि सञ्चालित अभियानले उत्साहजनक नतिजा हासिल गरेको छ । वि.सं. २०७९ भदौ १७ गतेदेखि प्रारम्भ गरिएको यस कार्यक्रमअन्तर्गत हाल जिल्लाका १६७ वटा स्वास्थ्य संस्थाहरूबाट उच्च रक्तचापका बिरामीको पहिचान, उपचार र नियमित निगरानी भइरहेको छ ।
उपलब्धि र विस्तार
स्थानीय सरकार र विश्व स्वास्थ्य सङ्गठन (WHO) को प्राविधिक सहयोगमा हालसम्म ६१८ जना स्वास्थ्यकर्मीलाई यस विषयमा विशेष तालिम प्रदान गरिसकिएको छ । तथ्याङ्कअनुसार जिल्लाका करिब १० हजार व्यक्तिले अहिले सरकारी स्वास्थ्य संस्थामार्फत नियमित रूपमा उच्च रक्तचापको औषधि सेवन गरिरहेका छन् । काभ्रेमा सफल सावित भएको यस नमूना कार्यक्रमलाई हाल स्वास्थ्य सेवा विभागले पर्सा, बारा, केलानी र इलाम जिल्लामा समेत विस्तार गरेको छ ।
गम्भीर चुनौती र प्राथमिकता
स्वास्थ्य क्षेत्रको तथ्याङ्कअनुसार नेपालमा वार्षिक १ लाख ३७ हजारभन्दा बढी व्यक्तिको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । साथै, करिब ४७ लाख नेपाली उच्च रक्तचापको जोखिममा रहेका छन् । यस परिस्थितिलाई मध्यनजर गर्दै दक्ष स्वास्थ्यकर्मीको परिचालन, उपचार प्रोटोकलको पूर्ण पालना, बिरामीको प्रभावकारी ‘ट्र्याकिङ’ र औषधिको निरन्तर आपूर्ति सुनिश्चित गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
९ बुँदे प्रतिबद्धता र नीतिगत संवाद
जिल्लामा आयोजित ‘गोलमेच नीतिगत संवाद’ का क्रममा स्थानीय तहका प्रमुखहरूले ९-बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । उक्त प्रतिबद्धतापत्रमा नागरिकको स्वास्थ्यलाई केन्द्रमा राख्दै नसर्ने रोगसम्बन्धी कार्यक्रमलाई थप विस्तार गर्ने, तीनै तहका सरकारबीच समन्वय सुदृढ गर्ने र दिगो प्राथमिक स्वास्थ्य सेवा प्रणालीको विकास गर्ने उल्लेख छ ।
कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतम र विश्व स्वास्थ्य सङ्गठनका वरिष्ठ स्वास्थ्य नीति सल्लाहकार डा. ग्याम्पो दोर्जीले काभ्रेको यो सफल अभ्यास अन्य जिल्लाका लागि मार्गदर्शक हुने विश्वास व्यक्त गर्नुभयो । स्थानीय तहका प्रमुखहरूले काभ्रेलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको सिकाइ केन्द्र बनाउन स्रोत परिचालन र जवाफदेहिता कायम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
यो अभियानमा विश्व स्वास्थ्य सङ्गठन, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र बागमती प्रदेश सरकारको समेत सक्रिय सहभागिता रहेको छ ।