आधुनिक बाजाले बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

कैलाली, ४ भदौ । तीज नजिकिँदै गर्दा कैलालीको लम्कीका बादी समुदायमा मादल बनाउने चटारो बढेको छ। तर, चाडपर्वको यो रौनकका बीच पनि उनीहरूलाई आफ्नो पुर्ख्यौली पेसा आधुनिक बाजाका कारण सङ्कटमा परेको चिन्ताले सताएको छ।

बल्चौरका तीर्थ बादी १६ वर्षदेखि मादल बनाउँदै आउनुभएको छ। रिट्ठा र आँपको काठ, बाख्रा र राँगाको छाला प्रयोग गरी एउटा मादल तयार गर्न उनलाई करिब चार दिन लाग्छ। यही पेसाबाट वार्षिक ६ लाख रुपैयाँसम्म आम्दानी गरेर उनले सात जनाको परिवार पाल्दै आउनुभएको छ। उनका अनुसार, एउटा मादल ३ हजारदेखि १५ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ।

तर, यो पेसा धान्न सजिलो छैन। तीर्थ भन्नुहुन्छ, “आधुनिक बाजाले हाम्रो पेसा सङ्कटमा छ। मादल बनाउने काठ पाउन पनि मुस्किल छ।” उनले स्थानीय सरकारबाट सहयोग पाएमा महिनामा ५० वटासम्म मादल उत्पादन गर्न सकिने विश्वास व्यक्त गरे।

बल्चौरकै अर्का व्यवसायी किस्न बादी पनि तीजको माग धान्न मादल बनाउन व्यस्त छन्। वार्षिक ३-४ लाख रुपैयाँ आम्दानी गर्ने किस्नको पनि गुनासो उस्तै छ। “बजारका आधुनिक बाजाले हाम्रो व्यवसाय नै धरापमा पर्‍यो,” उनले भने, “वनबाट काठ ल्याउन पनि पाइँदैन।” उनले व्यवसाय टिकाउन स्थानीय र प्रदेश सरकारसँग सहयोगको अपेक्षा गरेका छन्।

लम्कीचुहा नगरपालिका–३ बल्चौरमा बादी समुदायका करिब १७१ घरधुरी छन्। कुनै बेला घुमन्ते जीवन बिताउने यो समुदाय अहिले स्थायी बसोबास गरे पनि रोजगारीको अभाव झेलिरहेको छ। धेरैजसो युवा रोजगारीका लागि भारत जान बाध्य छन्।

समुदायका केही व्यक्तिले मादल, दमाहा जस्ता बाजाका साथै हँसिया, बन्चरो जस्ता घरेलु औजार बनाएर परम्परागत पेसालाई निरन्तरता दिएका छन्। तर, बजार अभावका कारण उनीहरूलाई आफ्नो सीप र संस्कृति जोगाउन कठिन भइरहेको छ।