कार्यालय समयमा निजी अस्पतालमा काम नगर्न चिकित्सकलाई कर्णाली सरकारको निर्देशन
सुर्खेत, ४ भदाै । कर्णाली प्रदेश सरकारले सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई कार्यालय समयमा निजी अस्पताल, क्लिनिक वा मेडिकलमा काम नगर्न कडा निर्देशन दिएको छ।
सरकारी चिकित्सकहरू कार्यालय समयमा आफ्नो पदमा उपस्थित नभई निजी स्वास्थ्य संस्थामा काम गर्ने गरेको भन्दै जनगुनासो बढेपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो।
मन्त्रालयले जारी गरेको सूचनामा कार्यालय समयमा निजी स्वास्थ्य संस्थामा काम गर्नु वा त्यसका लागि विज्ञापन गर्नु प्रचलित कानुन र पेसागत नैतिकताविपरीत हुने उल्लेख छ।
मन्त्रालयले अबदेखि सबै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई आफ्नो पदीय मर्यादा र पेसागत अनुशासनमा रहेर जिम्मेवारी पूरा गर्न सचेत गराएको छ।
सरकारी चिकित्सकहरूले कार्यालय समयमा निजी क्लिनिकमा बढी समय दिने गरेको गुनासो बढेपछि प्रदेश सरकारबाट यो निर्देशन आएको हो।
कर्णाली प्रदेशको नियमअनुसार, निजी स्वास्थ्य संस्थामा काम नगरेको स्वघोषणा गरेपछि मात्र कर्मचारी/चिकित्सकले सुविधा पाउने व्यवस्था छ। तर, धेरैले यो नियम उल्लंघन गर्दै स्वघोषणा नगरी निजीमा काम गरेर सरकारी सुविधा लिइरहेको मन्त्रालयले जनाएको छ।
यदि कुनै चिकित्सक वा स्वास्थ्यकर्मीले यो निर्देशन उल्लंघन गरेको पाइएमा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ र कर्णाली प्रदेश निजामती सेवा ऐन, २०८० बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।