म्याग्दीमा बसाइँसराइको भयावह तथ्यांक, वार्षिक १५० परिवारले गाउँ छाड्दै

म्याग्दी, ६ भदौ। सुविधा र अवसरको खोजीमा म्याग्दीबाट बसाइँ सर्नेको लर्को लागेपछि यहाँका गाउँहरू रित्तिन थालेका छन्।

जिल्लाका स्थानीय तहहरूको आधिकारिक तथ्यांकअनुसार, वार्षिक करिब २५० परिवारले जिल्ला छाड्ने गरेका छन् भने केवल १०० परिवार मात्र भित्रिने गरेका छन्। यसरी वार्षिक रूपमा खुद १५० परिवार बाहिरिँदा गाउँमा सामाजिक र आर्थिक संकट गहिरिँदै गएको हो।

यो भयावह तथ्यांकले जिल्लाको भविष्यमाथि नै प्रश्न उठाएको छ। बसाइँसराइका कारण विद्यालयमा विद्यार्थी घटेका छन्, खेतीयोग्य जमिन बाँझिएका छन् भने विवाह र मलामीमा समेत युवाहरूको उपस्थिति पातलिएको छ।

धवलागिरि गाउँपालिकाका चित्र पुन भन्नुहुन्छ, “अहिले विवाहमा जन्ती र मृत्युमा मलामी जाने अधिकांश प्रौढ र वृद्ध मात्रै हुन्छन्। अर्मपर्म गर्ने चलन हराइसक्यो।”

विज्ञहरूका अनुसार, गाउँमा सडक, बिजुली र सञ्चारजस्ता पूर्वाधार पुगे पनि रोजगारी र आयआर्जनको अवसर नहुँदा मानिसहरूलाई रोक्न सकिएको छैन। समाजशास्त्री गोरखबहादुर जिसी भन्नुहुन्छ, “विकासलाई रोजगारी र सम्भावनालाई आयआर्जनसँग नजोड्दासम्म यो क्रम रोकिने देखिँदैन।”

पछिल्लो जनगणनाअनुसार, १० वर्षमा म्याग्दीको जनसंख्या ६ हजारभन्दा बढीले घटेको छ। स्थानीय सरकारले कृषि र पर्यटनमार्फत रोजगारी सिर्जना गर्ने प्रयास गरे पनि बसाइँसराइको यो लहर रोक्न ठूलो चुनौती देखिएको छ।