राज्य व्यवस्था समितिको सभापति चयनमा सभामुख घिमिरे परामर्शमा व्यस्त

काठमाडौँ, ८ भदौ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा नयाँ चयनका लागि सभामुख देवराज घिमिरेले राजनीतिक परामर्शलाई तीव्रता दिनुभएको छ।

संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा विवादित बनेपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गत साउन २८ गते सभापति पदबाट राजीनामा दिएसँगै यो पद रिक्त छ।

प्रतिनिधि सभा नियमावली अनुसार समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था छ। यही समयसीमालाई ध्यानमा राख्दै सभामुख घिमिरेले निर्वाचन प्रक्रिया अघि बढाउन दलका नेताहरूसँग छलफल थाल्नुभएको हो। नियमावलीको यो व्यवस्था अनुसार यही भदौ ११ गतेभित्र समितिले नयाँ सभापति पाइसक्नुपर्छ।

यसै क्रममा सभामुख घिमिरेले गत शुक्रबार नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा गृहमन्त्री रमेश लेखकसँग छुट्टाछुट्टै र संयुक्त छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ।

प्रतिनिधि सभाको अर्को बैठक भदौ १३ गतेका लागि बोलाइएको छ। नियमावलीको नियम १७६ अनुसार सभामुखले सूचना प्रकाशित गरेर निर्वाचनको मिति र तालिका सार्वजनिक गर्न सक्ने अधिकार छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *