नेपालको अर्थतन्त्रमा उत्साहजनक सुधार: रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च

काठमाडौँ, ८ भदौ। गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रले बलियो सुधारको संकेत देखाएको छ ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार, आर्थिक वृद्धिदर बढेको छ भने मूल्यवृद्धि नियन्त्रणमा आएको छ।

सबैभन्दा महत्वपूर्ण कुरा, विप्रेषण आप्रवाह (रेमिट्यान्स) र विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार, गत आवमा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत पुगेको अनुमान छ, जुन अघिल्लो वर्ष ३.६७ प्रतिशत मात्र थियो। त्यस्तै, उपभोक्ताको ढाड सेक्ने महँगीमा पनि उल्लेख्य राहत मिलेको छ। वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशतबाट घटेर ४.०६ प्रतिशतमा सीमित भएको छ।

अर्थतन्त्रको बाह्य क्षेत्रमा ऐतिहासिक सुधार देखिएको छ। गत वर्षमात्रै कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.२ प्रतिशतले बढी हो।

यसले देशको विदेशी विनिमय सञ्चितिलाई २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ (१९.५० अर्ब अमेरिकी डलर) को कीर्तिमानी उचाइमा पुर्‍याएको छ। यो सञ्चितिले १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। यसका साथै, शोधनान्तर स्थिति पनि ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको छ भने निर्यातमा ८१.८ प्रतिशतको विशाल वृद्धि भएको छ।

बाह्य क्षेत्र बलियो देखिए पनि आन्तरिक वित्तीय क्षेत्रमा भने विस्तार सामान्य रहेको छ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन १२.६ प्रतिशतले बढेर ७२ खर्ब ६४ अर्ब पुगेको छ। तर, निजी क्षेत्रमा जाने कर्जा प्रवाह ८.४ प्रतिशतले मात्रै बढेर ५४ खर्ब ९८ अर्ब पुगेको छ, जसले बजारमा आर्थिक गतिविधि अपेक्षाकृत सुस्त रहेको संकेत गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *