वीरगञ्जमा हैजाको प्रकोप: समुदायमा फैलियो सङ्क्रमण, ७९ जना सङ्क्रमित, स्रोत अझै अज्ञात
वीरगञ्ज, ९ भदौ। वीरगञ्ज महानगरपालिकामा हैजा समुदायस्तरमा फैलिएको छ, र हालसम्म ७९ जनामा सङ्क्रमण पुष्टि भएको छ। तर, सङ्क्रमणको मुख्य स्रोत अझै पत्ता लाग्न सकेको छैन, जसले गर्दा नियन्त्रणमा चुनौती थपिएको छ।
स्वास्थ्य कार्यालय पर्साका अनुसार सोमबार बिहानसम्म ७९ जनामा हैजा पुष्टि भएको छ भने विभिन्न अस्पतालमा १०३ जनाको उपचार भइरहेको छ। विश्व स्वास्थ्य सङ्गठन (WHO) को टोलीले पानीको नमुना परीक्षण गरिरहेको र चाँडै नै स्रोतबारे प्रारम्भिक रिपोर्ट आउने अपेक्षा गरिएको जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताउनुभयो।
यसैबीच, नारायणी अस्पतालले बिरामीको चाप थेग्न नसकेको जनाएको छ। अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार शय्या र जनशक्तिको चरम अभाव छ। “हैजाका साथै सर्पदंश र ज्वरोका बिरामीको चाप पनि अत्यधिक छ, तर आवश्यक सहयोग कागजी प्रक्रियामा मात्र सीमित छ,” उहाँले भन्नुभयो।
संक्रमितहरू नारायणी अस्पतालमा २६, तराई अस्पतालमा २५, नेशनल मेडिकल कलेजमा ९ तथा अन्य निजी स्वास्थ्य संस्थाहरूमा उपचाररत छन्। गत शुक्रबारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका बिरामी भेटिन थालेका हुन्।