हैजा नियन्त्रणमा सुरक्षा निकाय: घरदैलोमा सचेतना, ब्यारेकमा उच्च सतर्कता
वीरगञ्ज, ९ भदौ। वीरगञ्जमा हैजाको प्रकोप समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासन र सुरक्षा निकायहरू रोकथाम तथा नियन्त्रणका लागि सक्रिय भएका छन्। उनीहरूले समुदायमा सचेतना फैलाउनेदेखि बिरामीको उद्धार र आफ्नै ब्यारेकभित्र उच्च सतर्कता अपनाउनेसम्मका काम गरिरहेका छन्।
जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा हैजाविरुद्ध अभियान चलाएका छन्। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले सबै निकायबीच समन्वय गरेर आवश्यक कदम चालिएको बताउनुभयो।
नेपाल प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतना फैलाउने र बिरामीलाई अस्पतालसम्म पुर्याउन सहयोग गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। त्यस्तै
सशस्त्र प्रहरी बलले पर्साका ७२ वटा समुदायमा दैनिक रूपमा पुगेर हैजाका लक्षण र रोकथामका उपायबारे जानकारी दिइरहेको छ। सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टका अनुसार जिल्ला प्रशासनमा आउने सेवाग्राहीलाई समेत सचेत गराइएको छ।
हैजाको सङ्क्रमणबाट बच्न सुरक्षा निकायहरूले आफ्ना ब्यारेकभित्र पनि कडा सावधानी अपनाएका छन्। सबै युनिटमा पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउने व्यवस्था मिलाइएको छ। सशस्त्र प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै एक साताका लागि सागपात खानसमेत रोक लगाएको छ।
अहिलेसम्म कुनै पनि सुरक्षाकर्मीमा हैजाको सङ्क्रमण पुष्टि नभएको सम्बन्धित निकायहरूले दाबी गरेका छन्। यो संयुक्त प्रयासले हैजाको प्रकोपलाई शीघ्र नियन्त्रणमा लिई थप सङ्क्रमण फैलिनबाट रोक्ने लक्ष्य राखिएको छ।