आवश्यकताका आधारमा वैदेशिक सहयोग र सहुलियतपूर्ण ऋण परिचालन गर्नुपर्ने अर्थमन्त्री पौडेलकाे जोड
ललितपुर, १३ भदौ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकासका लागि वैदेशिक सहयोग र सहुलियतपूर्ण ऋणलाई आवश्यकताका आधारमा परिचालन गर्नुपर्नेमा जोड दिनुभएको छ। पाटनमा आयोजित ‘नेपाललाई अल्पविकसितबाट विकासशील देशमा स्तरोन्नति र बजेट कार्यान्वयनमा चुनौती’ विषयक सार्वजनिक नीति बहस कार्यक्रममा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो।
पौडेलले विश्वव्यापी परिस्थितिअनुसार अब अनुदानमुखी मात्रै भएर अगाडि बढ्न नसकिने र प्राप्त हुने सहुलियतपूर्ण ऋणलाई सही ढंगले प्रयोग गर्नुपर्ने बताउनुभयो। उहाँले पाँच दशक लामो योजनाबद्ध विकासका बाबजुद पनि सोचेअनुसार काम र स्रोत व्यवस्थापन गर्न नसकिएकोमा चिन्ता व्यक्त गर्नुभयो, साथै योजनालाई आवश्यकतासँग कसरी जोड्ने भन्ने मुख्य चुनौती रहेको औंल्याउनुभयो।
अर्थमन्त्रीले योजना निर्माण र बजेट विनियोजनबीचको सम्बन्धको गम्भीर समीक्षा गर्नुपर्ने र योजना बनाउँदा प्राथमिकतामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उनले लागत र प्रतिफल मूल्याङ्कन नगरी योजना बैंकमा योजना समावेश गर्ने परिपाटीले समस्या बढाएको बताए।
स्थिर सरकार भएकाले अहिले गरिएका कामहरूले सार्थकता पाउने भन्दै पौडेलले शासकीय रूपमा सहमत भए पनि योजनालाई आवश्यकता र स्रोत व्यवस्थापनसँग जोडेर परिस्थिति सापेक्ष विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले तीन करोडभन्दा साना योजनाहरू सङ्घीय सरकारले कार्यान्वयन नगर्ने नीति लागू गर्न ठूलो चुनौती रहेको पनि उल्लेख गर्नुभयो। साथै, नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन अनौपचारिक अर्थतन्त्रको प्रभावलाई पनि ध्यान दिनुपर्ने स्पष्ट पार्नुभयो।
कार्यक्रममा पूर्वयोजनाकार मञ्चका उपाध्यक्ष डा. पोषराज पाण्डेले नेपालले क्षमता अभिवृद्धि, उत्पादकत्व वृद्धि र प्रतिस्पर्धात्मक विकास प्रक्रियामा जोड दिँदै समृद्धितर्फको यात्रालाई अन्तर्राष्ट्रिय समुदायले पनि सम्मान गर्ने गरी अगाडि बढ्नुपर्ने बताए। प्राध्यापक डा. गोविन्द नेपालले बजेट कार्यान्वयनका चुनौतीबारे प्रस्तुति दिँदै ठीक ढंगले हिसाब व्यवस्थापन नगर्दा बेरुजु बढेको र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व कार्यविधि २०७७ विपरीत असारको अन्तिम हप्तामा रकमान्तर हुँदा खर्चमा अव्यावहारिक अवस्था सिर्जना भएको बताउनुभयो।