काठमाडौँमा अहिंसा महोत्सव सुरु : शाकाहारी र दिगो जीवनशैलीमा जोड

काठमाडौँ, भदौ १२ । आजदेखि काठमाडौँमा ‘अहिंसा महोत्सव’ सुरु भएको छ, जसले पृथ्वी र पशुपक्षीमाथि मानवजातिले गर्ने हिंसाका विभिन्न पक्ष तथा त्यसलाई घटाउने उपायबारे छलफल र बहस गर्नेछ । पोषणविद्, चिकित्सक र पशु अधिकार क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय प्रतिनिधिहरू यस महोत्सवमा सहभागी छन् ।

महोत्सवमा पूर्ण वनस्पतिजन्य भोजनका साथै वनस्पतिमा आधारित उत्पादनका विभिन्न स्टलहरू राखिएका छन् । यहाँ मासुको विकल्पका रूपमा लोकप्रिय सेइटानका परिकारहरू चाख्न पाइनेछ । साथै, भुइँकटहरको छालाबाट बनेका आकर्षक झोलाहरू पनि प्रदर्शनीको मुख्य आकर्षण बनेका छन्, जसले दिगो र अहिंसक उत्पादनको उदाहरण प्रस्तुत गर्दछ ।

कार्यक्रमको उद्घाटन समारोहमा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले जलवायु परिवर्तन न्यूनीकरण र मानव स्वास्थ्यका लागि अहिंसामय जीवनशैलीको आवश्यकतामाथि जोड दिनुभयो । “शाकाहारले पशुका साथै समस्त मानवजातिको हित गर्छ । अतः पृथ्वीवासीले पशुजन्य भोजन कम गर्दै पूर्ण वनस्पतिजन्य भोजनतर्फ लाग्नु आवश्यक छ ।” उहाँको भनाइ थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सबै किसिमका हिंसाको मूल शक्ति संरचनामा निहित रहेको बताउँदै शक्तिको समतामूलक र विवेकशील विभाजनको आवश्यकता औँल्याउनुभयो ।  उहाँले भन्नुभयो, “भौतिक र शारीरिक मात्र नभई मानसिक हिंसाको अन्त्य गर्न पनि हामीले काम गर्नुपर्छ। एउटा संस्कृतिले अर्को संस्कृतिमाथि र पुरुषले महिलामाथि गर्ने हिंसाबारे हामीले बृहत् रूपमा बुझ्नुपर्छ।”

महोत्सवमा विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधिहरूले अधिकांश धर्मको सार अहिंसा भए पनि कतिपयले धर्मभित्रसमेत हिंसाका अंश घुसाएर धर्मको स्वरूप बिगारेको बताए । आयोजकका अनुसार, शुक्रबार र शनिबार खानपानलगायत विभिन्न विषयमा अन्तर्राष्ट्रिय प्रतिनिधि र अहिंसावादीहरूका प्रस्तुतिहरू रहनेछन् । यो महोत्सव शनिबारसम्म चल्नेछ ।