मुग्लिन–पोखरा सडकको पश्चिम खण्डमा तीव्र गतिमा कालोपत्रे, जामुने बजारमा काम सुरु

तनहुँ, १३ भदौ । राष्ट्रिय गौरवको आयोजना मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डमा कालोपत्रे गर्ने काम द्रुत गतिमा अघि बढेको छ। यस खण्डको जामुने बजारमा हाल कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ।

कुल ३९ किलोमिटर लामो यस खण्डमध्ये हालसम्म ३६.८ किलोमिटर सडक कालोपत्रे भइसकेको मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) का प्रमुख कृष्ण कुँवरले जानकारी दिनुभयो। बाँकी खण्डमा पनि धमाधम काम भइरहेको छ।

कुँवरका अनुसार, पश्चिम खण्डअन्तर्गत म्याग्देको मौरीओडार, शुक्लागण्डकीको दुलेगौडा, कास्कीको विजयपुल र पोखरा विश्वविद्यालय आसपासका क्षेत्रमा कालोपत्रे गर्न बाँकी रहेको छ।

सडक विस्तारसँगै पुल र कल्भर्ट निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ। यस खण्डमा रहेका १२ वटा पुलमध्ये १० वटाको निर्माण सम्पन्न भइसकेको छ भने एक सय वटा कल्भर्टमध्ये ९२ वटा बनिसकेका छन्।

करिब सात अर्ब ४० करोडको लागतमा सुरु भएको यस पश्चिम खण्डको सम्पूर्ण काम आगामी पुस महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *