वीरगञ्जको हैजा नियन्त्रणमा नेपाली सेनासहित चारवटै सुरक्षा निकाय परिचालन गरिने: प्रधानमन्त्री
काठमाडौँ, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्साको वीरगञ्जमा फैलिएको हैजा रोगको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा नेपाली सेनासहित चारवटै सुरक्षा निकायका चिकित्सक र उपकरण परिचालन गरिने बताउनुभएको छ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजै बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो। उहाँले यस निर्णयसँगै वीरगञ्जमा देखिएको हैजा नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो।
महामारीका कारण तीन जनाको निधन भएकोमा दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले नियन्त्रणका लागि सरकारले सक्दो पहल गरिरहेको र रोगको स्रोतबारे खोजी भइरहेको बताउनुभयो।
प्रधानमन्त्री ओलीले हैजाका बिरामीहरूको उपचार र सचेतनाका लागि विभिन्न प्रबन्ध गरिएको उल्लेख गर्नुभयो। उहाँले नारायणी अस्पतालमा निःशुल्क उपचार गरिनुका साथै निजी अस्पतालहरूमा समेत उपचारको व्यवस्था मिलाइएको सदनलाई जानकारी दिनुभयो।