‘ग वर्ग’सम्मका एम्बलेन्स सहज नवीकरणको मागमा एम्बुलेन्स चालक संघ ।
काठमाडौँ, भदौ १५ । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले स्वास्थ्य ऐन, २०७५ संशोधन, एम्बुलेन्स सञ्चालनमा स्वास्थ्य क्षेत्रको एकाधिकार खारेजी, र क, ख, ग वर्गका एम्बुलेन्सको सहज नवीकरण लगायतका महत्त्वपूर्ण मागहरू राखेको छ । सङ्घका अनुसार, देशभरका छ हजार एम्बुलेन्समध्ये ८० प्रतिशत ऐनका कारण नवीकरण हुन सकेका छैनन् ।
स्वास्थ्य ऐन, २०७५ संशोधन गरेर एम्बुलेन्स सञ्चालनका लागि बाधक बनेका प्रावधानहरू हटाउनु पर्ने, स्वास्थ्य क्षेत्रले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गरिनु पर्ने, अहिले सञ्चालनमा रहेका क, ख र ग वर्गमा रहेका एम्बुलेन्सहरूलाई कुनै झन्झटविना नवीकरण गर्न पाउनु पर्ने, एम्बुलेन्स चालकहरूलाई आवश्यक स्वास्थ्य तालिमको व्यवस्था गर्नुपर्ने, सबै अस्पतालहरूमा एम्बुलेन्सका लागि उचित पार्किङको व्यवस्था हुनु पर्ने, सरकारले चालकका लागि स्वास्थ्य सामग्री, एम्बुलेन्समा आवश्यक औषधि, र सुरक्षा पोशाकको व्यवस्था गर्नु पर्ने संघका माग छन् ।
आफ्ना मागहरू पूरा गराउन आग्रह गर्दै सङ्घले प्रमुख राजनीतिक दलका नेताहरूलाई ध्यानाकर्षणपत्र बुझाएको छ। सङ्घका अध्यक्ष नवराज लामिछानेको नेतृत्वमा गएको टोलीले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र उपसभापति धनराज गुरुङ, नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीलाई भेट गरी सहयोगको आग्रह गरेको छ ।
यसअघि, सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाउनुका साथै देशका अधिकांश जिल्ला प्रशासन कार्यालयमार्फत पनि मन्त्रीलाई ज्ञापनपत्र पठाएको थियो ।