आजदेखि महालक्ष्मी व्रत आरम्भ : १६ दिन धनधान्यकी देवीको विशेष आराधना हुने

काठमाडौँ, भदौ १५ । वैदिक सनातन धर्मावलम्बीहरूले आज भाद्र शुक्ल अष्टमीका दिनदेखि धनधान्यकी देवी महालक्ष्मीको विशेष आराधना गर्ने १६ दिने लामो महालक्ष्मी व्रत आरम्भ गरेका छन् । यो पर्वलाई महालक्ष्मीलाई प्रसन्न गराउने एक महत्त्वपूर्ण अवसरका रूपमा लिइन्छ ।

आजदेखि सुरु भई आश्विन कृष्ण सप्तमीसम्म (यस वर्ष भदौ २४ गते बुधबारसम्म) विधिपूर्वक यो व्रत सम्पन्न गरिनेछ। यस व्रतका क्रममा भक्तजनहरूले ब्रह्मचर्यमा रहनुपर्ने, भूमिमा शयन गर्नुपर्ने, प्रत्येक दिन एक छाक फलाहार (हविष्य भोजन) मात्र गर्ने र दिनमा एक पटक मात्र नुन सेवन गर्ने जस्ता नियमहरू पालना गर्नुपर्दछ। सोह्र दिनसम्म प्रत्येक साँझ चन्द्रमालाई अर्घ्य दिने गरिन्छ ।

महालक्ष्मी व्रतको महत्त्व र फल

यो व्रत गर्नाले धन, सम्पत्ति र वैभव प्राप्त हुने धार्मिक विश्वास छ। विशेषगरी नारीहरूले गर्ने यस व्रतले घरमा महालक्ष्मीको बास भई दुःख, दारिद्रय नाश हुने तथा सुख, शान्ति प्राप्त हुने मान्यता रहेको छ ।

वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईका अनुसार विभिन्न ग्रन्थहरूमा साक्षात् भगवान् शङ्करले भगवती पार्वतीलाई यस व्रतको विधि बताउनुभएको उल्लेख छ । यस व्रतको प्रभावले मृत्युपश्चात् पनि दिव्यधाम प्राप्त हुने र अलक्ष्मी (दुःख, दरिद्रता) नाश हुने विश्वास गरिन्छ ।

देवराज इन्द्रले समेत महालक्ष्मीको व्रत र पूजा आराधना गरी ‘महालक्ष्मी अष्टकम्’ नामक स्तोत्र रचना गर्नुभएको महालक्ष्मी व्रत विधिमा उल्लेख छ । बिहान, मध्याह्न र साँझ गरी तीन पटक ‘महालक्ष्मी अष्टकम्’ पाठ गर्दा धनधान्य, सुख, वैभव प्राप्त हुनुका साथै शत्रुको समेत नाश हुने विश्वास गरिन्छ ।

महालक्ष्मी पूजाको परम्परा

प्रत्येक वर्ष भाद्र शुक्ल सप्तमीदेखि आश्विन कृष्ण सप्तमीसम्म १६ दिन, आश्विन शुक्ल पूर्णिमा र कार्तिक कृष्ण औँसी गरी तीन पटक विशेष रूपमा महालक्ष्मीको पूजा आराधना गर्ने वैदिक परम्परा रहेको छ । यसका अतिरिक्त, आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको दुर्गा पक्षमा पनि महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको पनि पूजा आराधना गरिन्छ ।