अकबरेखेतीमा ऋषिङका किसान, १४० रोपनीमा सुन्तला

तनहुँ, १५ भदाै । तनहुँको ऋषिङ गाउँपालिका-८, अर्चलेका २५ जना किसानले अर्चले कृषक समूहमा आबद्ध भई २२ रोपनी जग्गामा पहिलो पटक सामूहिक अकबरे खुर्सानी खेती सुरु गरेका छन्।

उत्पादित खुर्सानी प्रतिकिलो रु २५० देखि रु ३५० मा बिक्री भइरहेको समूहका सदस्य गञ्जसिं गुरुङले बताउनुभयो। उहाँका अनुसार पहिलो चरणमा एक हजार किलो खुर्सानी बिक्री भइसकेको छ र यसबाट रु दुई लाखभन्दा बढी आम्दानी भएको छ। खुर्सानी जिल्लाको भीमाद, दुलेगौँडा तथा पोखराका बजारमा बिक्री भइरहेको छ।

गाउँपालिकाले खुर्सानीको बेर्ना र सिँचाइका लागि ७५ प्रतिशत अनुदान सहयोग गरेको थियो। समूहका अध्यक्ष मिनबहादुर गुरुङका अनुसार सुरुमा रु छ लाख लगानी गरिएको थियो। वैशाखको अन्तिम साता बिरुवा लगाएको दुई महिनामै फल दिन सुरु गरेको र अब दोस्रो चरणको बिक्रीका लागि तयारी भइरहेको उहाँले बताउनुभयो।

ऋषिङ साना किसान कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहनुभएका गञ्जसिं गुरुङले युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले पशुपालन र कृषि व्यवसायका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो।

यस क्षेत्रको माटो उर्वरायुक्त भएकाले अकबरे खुर्सानीका साथै १४० रोपनी जग्गामा सुन्तला खेती पनि सुरु गरिएको छ। हाल एक हजार सुन्तलाका बिरुवा रोपिएको छ र तीन हजार बिरुवा लगाउने योजना रहेको गुरुङले बताउनुभयो।