अस्ट्रेलिया भ्रमणमा सबै खेलाडीलाई अवसर

काठमाडौँ, भदौ १७ गते । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले मङगलबार अस्ट्रेलिया भ्रमण फलदायी भएको बताएका छन् । नेपालको क्रिकेट टिम अस्ट्रेलियाको टप एन्ड टी–२० सिरिज तथा अन्य मैत्री क्रिकेट शृङखलामा सहभागिता जनाएर स्वदेश फर्केको हो ।

नेपालले टप एन्ड टि२० मा नेपाल ११ टिममध्ये आठौँ सथानमा रहेको थियो । सो प्रतियोगितापछि अस्ट्रेलिया क्यापिटल टेरिटोरी र साउथ अस्ट्रेलियासँग मैत्री शृङखला खेलेको थियो । नेपालले अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई दुवै खेलमा हराएको थियो भने साउथ अस्ट्रेलियासँग दुवै खेलमा पराजित भएको थियो ।

कप्तान रोहितले यस्तो वैदेशिक भ्रमणले नेपालको स्तर बढ्ने र खेलाडीहरुको प्रदर्शनमा धेरै सुधार आउने हुँदा वर्षेनी यस्ता सिरिज हुनुपर्छ भनेका छन् । उनका अनुसार यो एस्क्पोजरले टी–२० विश्वकप छनोटमा धेरै फाइदा पुग्नेछ । नेपालले आइसिसी टी–२० विश्वकप छनोटको तयारीस्वरूप अस्ट्रेलिया भ्रमण गरेको थियो । नेपालले अक्टोबरमा आईसीसी टी–२० विश्वकपको एसिया र इस्ट एसिया प्यासिफिक छनोट खेल्दैछ । यसैगरी सेप्टेम्बरमा नेपाल र वेस्ट इन्डिजबिच ऐतिहासिक टी–२०आइ शृङखला हुँदैछ ।

कप्तान रोहितले अस्ट्रेलियाको लामो भ्रमणमा सबै खेलाडीलाई उत्तिकै एक्सपोजर दिएको बताए । कप्तान रोहितले अस्ट्रेलियाको भ्रमणले फिनिसिङमा केही कम छ भन्ने सिकाएको भनाई पनि राखे । नेपाल निकै नजिकका केही खेलमा हार वेहोरेको थियो । यसैगरी विदेशी मैदानमा वातावरण, मैदान र पिचसँग चाँडै अभ्यस्त हुनुनपर्ने पाठ पनि सिकाएको छ ।नेपालले सुरुका तीन खेल हारेपछि मात्र आफ्नो स्वभाविक प्रदर्शन गरेको थियो ।

सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले पनि सबै खेलाडीले राम्रो एक्सपोजर पाएको बताए । उनले फ्लड लाइट्समा र फरकफरक पिचमा खेल्नुपर्दा पनि केही कठिनाई भएको जानकारी दिए ।