कुवेतमा विषाक्त मदिरा सेवनका पीडितहरूको अंग अन्य विरामीलाई दान

काठमाडौं, १७ भदौ । कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाएका तथा बिरामी परेका पीडितहरूले अंगदान गरी धेरैको जीवन बचाएका छन्। उक्त घटनामा १६० जना बिरामी भएका थिए भने २३ जनाले ज्यान गुमाएका थिए, जसमध्ये १३ जना नेपाली नागरिक रहेका छन्।

कुवेतको स्वास्थ्य मन्त्रालयले कुवेती सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार ५१ जनालाई तत्काल मिर्गौला डायलाइसिसको आवश्यकता परेको थियो भने ३१ जनालाई भेन्टिलेटरमा राखिएको थियो। यस घटनाका दोषीहरूलाई कारबाही गर्ने क्रममा अवैध मदिरा उत्पादन र वितरणमा संलग्न ६७ जना पक्राउ परेका छन्।

कुवेतको अंग प्रत्यारोपण केन्द्रका प्रमुख डा. मुस्तफा अल–मुसावीले कुवेतको सरकारी टेलिभिजन केटीभीसँगको अन्तर्वार्तामा बताएअनुसार सघन उपचार कक्षमा भर्ना भएका करिब २० जनामध्ये १२ जनालाई ब्रेन डेड घोषणा गरिएको थियो। तीमध्ये १० जनाको परिवारले अंगदानका लागि सहमति दिए।

कुवेती टाइम्सले उल्लेख गरेअनुसार, यी १० जनाबाट चिकित्सकहरूले २० वटा किड्नी, तीनवटा मुटु, चारवटा कलेजो र दुईवटा फोक्सो संकलन गरेका थिए। फोक्सोबाहेक अन्य सबै अंगको सफल प्रत्यारोपण भएको थियो।

पछिल्ला पाँच दिनमा तीनवटा मुटु प्रत्यारोपण सफलतापूर्वक गरिएको थियो। कलेजो प्रत्यारोपण कार्यक्रम अस्थायी रूपमा रोकिएकोले कुवेती बिरामीहरूका लागि कलेजो अबुधाबी पठाइएको थियो, भने मुटु र मिर्गौलाको प्रत्यारोपण कुवेतमै गरियो।

नेपाली, भारतीय, बंगलादेशी लगायतका विभिन्न देशका आप्रवासी श्रमिकहरूले विषाक्त मदिरा सेवनबाट २३ जनाको मृत्यु भएको थियो भने १६० जना घाइते भएका थिए।

उक्त घटनापछि कुवेतको सुरक्षा निकायले अवैध मदिरा कारखानाहरूलाई विषाक्त रसायन आपूर्ति गर्ने प्रमुख गोदाममा छापा मारेको थियो। हावाली अनुसन्धान विभागको प्रतिनिधित्वमा रहेको सामान्य आपराधिक अनुसन्धान विभागले अल–राई क्षेत्रको यो मुख्य गोदाम कब्जा गरेको थियो।्र