सिंहरदरबार परिसरमा डेङ्गी फैलाउने लामखुट्टेका लार्भा खोज र नष्ट
काठमाडौँ, भदौ २०, । काठमाडौँ महानगरपालिकाको जनस्वास्थ्य विभागले बहुक्षेत्रीय समन्वय र साझेदारीमा आज सिंहदरबार परिसरमा डेङ्गी फैलाउने लामखुट्टेका लार्भा खोज र नष्ट कार्यक्रम आयोजना गरेको छ । बर्खायामसँगै डेङ्गीको संक्रमण फैलिन थालेपछि नियमित चलेको कार्यक्रमलाई थप परिस्कृत गरेर गएको हप्ताबाट महानगरपालिकाले सञ्चालन गरेको ‘वक एण्ड एक्ट’ अभियान थालिएको छ । यसअघि हरेक शुक्रबार बिहान साढे ९ बजेदेखि १० बजेसम्म महानगरपालिका सबै कार्यालय परिसरमा लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने कार्यक्रम सञ्चालन हुँदै आएको थियो ।
आजको अभियानमा संसद सचिवालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उर्जा मन्त्रालयसहित सिंहदरबार परिसरका विभिन्न ठाउँमा टोली पुगेको थियो । महानगरपालिकाको महामारी रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालका अनुसार परिसरका विभिन्न ठाउँमा लामखुट्टेको प्रजनन चक्रका लागि उपयुक्त धेरै ठाउँ भेटिए । उहाँ भन्नुहुन्छ, ‘पानी जमेका भाँडा, आकाशे पानीले पानी जमेका टायर, खाडल, पुननिर्माण भइरहेको ठाउँहरु, बाहिर राखिएका शौचालयका कमोट, टुटु फुट भएका बाल्टिन, बकेट, फुलदानी, गमलाको प्लेट जस्ता ठाउँमा लामो समयदेखि पानी जमेको भेटिएको थियो ।’
अभियान सञ्चालन भइरहँदा उर्जा मन्त्रालयमा मन्त्री दिपक खड्काले अभियानकर्मीहरुले सञ्चालन गरेको कामलाई प्रशंशा र प्रोत्साहन गर्नुभएको थियो ।
अभियानमा महानगरपालिकाको स्वास्थ्य विभाग, वडा ११ र २९ को स्वास्थ्य प्रवर्धन केन्द्र र समुदायका व्यक्तित्वहरु, महानगर प्रहरी बल, किस्ट एएमआर, हेल्थ कोर फाउन्डेसन क्लवसहित संघसंस्थाबाट
बर्खायाम सुरु भएसँगै काठमाडौँ महानगरपालिकाको जनस्वास्थ्य विभागले डेङ्गी संक्रमण र हैजा नियन्त्रण कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिरहेको छ । आम नागरिकका स्वास्थ्य सम्बन्धी गुनासा, जिज्ञासा सुन्न र प्रारम्भिक परामर्शका लागि निःशुल्क महानगरपालिकाले ११८० टेलिफोन नम्बर सञ्चालनमा ल्याएको छ ।
लार्भा खोज र नष्ट
डेङ्गी संक्रमण फैलाउने एडिस जातको लामखुट्टे सफा जमेको पानीमा बस्छ । यसकारण सफा पानी राखिने भाँडाहरुमा पानी भरेर राख्नुहुँदैन । पानी जम्ने सडक, सडक पेटीका खाल्टाखुल्टी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरण्डामा जम्ने पानी लामखुट्टेको संख्या वृद्धि हुने ठाउँ भएकोले यस्ता ठाउँमा पानी जम्न दिनु हुँदैन ।
डेङ्गीका लक्षण र उपचार
एक्कासी उच्च ज्वरो आउनु डेङ्गीको मुख्य लक्षण हो । सामान्यतया संक्रमित लामखुट्टेले टोकेको ४ देखि ७ दिन भित्र लक्षण देखापर्छ । ज्वरोसँगै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने, वान्ता हुने, सरीरमा विमिरा आउने हुन सक्छ । हाडजोर्नी, मांसपेशी र ढाड दुख्ने पनि हुन सक्छ । सामान्य लक्षण र अवस्थामा घरमै बसेर झोलिलो खानेकुरा खाएर आराम गर्नुपर्छ ।
लगातार वान्ता हुनु, वान्तामा रगत देखा पर्नु, धेरै पेट दुख्नु, सास फेर्न गाह्रो हुनु, गिजाबाट रगत बग्नु, बेहोस हुनु डेङ्गीको जटिल अवस्थाका लक्षण हुन् । यो वेलामा विरामी सिकिस्त हुन सक्छन् । यस बेला स्वास्थ्य संस्थामा जानु पर्छ । औषधी खानुपर्दा चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्नुपर्छ ।
लक्षण देखिँदैमा डराउनु पर्दैन । शुद्ध, झोलिला र पोषिला खानेकुराको मात्रा बढाउनु पर्छ । आराम गर्नुपर्छ । कमजोर महसुस हुँदै गएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।