स्वास्थ्य बीमा बाट ८ कडा रोगको एकीकृत सुविधा पाउने

काठमाडौं, २० भदौ । स्वास्थ्य मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार नागरिकहरूले आठ प्रकारका कडा रोगको उपचार तथा विपन्न नागरिकको एकीकृत सुविधा लागु गरेका छन् ।

स्वास्थ्य बीमामा आबद्ध भएका बीमितहरूले याे सेवा आउँदो कात्तिक १ गतेदेखि पाउने भएकाे हाे ।

एकीकृत सुविधाको कार्यान्वयनका लागि मन्त्रालयले हालसालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन)’ स्वीकृत गरेका थियो ।

संशोधित निर्देशिकाअनुसार, विपन्न नागरिकले पाउँदै आएको उपचार सुविधाको सम्पूर्ण भुक्तानी स्वास्थ्य बीमा बोर्डमार्फत हुने व्यवस्था गरिएको थियो ।

यो सुविधा १ कात्तिकदेखि स्वास्थ्य बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुने भएकाले हाल उपचार सेवा लिइरहेका वा नयाँ सेवा लिन चाहने सबै विपन्न नागरिकले अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध हुनुपर्ने छ ।

मन्त्रीस्तरीय निर्णयले विपन्न सेवाको निरन्तरता सुनिश्चित गर्न हालका सेवाग्राहीहरूलाई आउँदो असोज मसान्तभित्र बीमामा दर्ताको व्यवस्था मिलाउन निर्देशन दिँदै स्वास्थ्य बीमा बोर्ड र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखालाई पत्र पठाएको छ ।